नेपाली खण्ड


Web Search 
tistarangit.com

 

 

 HOME | ABOUT US | FEEDBACK | ABOUT SIKKIM | GOVT. ADVT.

सिक्किममा नेपाली साहित्यको गतिविधि
सानु लामा

नेपाली भाषा-साहित्यको विकास तथा यस सम्बन्धी गतिविधिलाई नियाल्दा, आसम, दार्जीलिङ तथा अन्य ठाउँहरूभन्दा सिक्किम कान्छो देखिन्छ।

सिक्किममा कतिपय साहित्यिक गतिविधिलाई कोट्याउँदै जहिले पनि हामी  अपतन साहित्य परिषद्-मा ठोकिनपुग्छौं। हुन पनि सिक्किममा नेपाली साहित्यको विकासको इतिहास अपतन साहित्य परिषद् (1947) देखि शुरू भएको पाउँछौ। प्रथमोप्रथम साङ्गठनिक रूपमा सिक्किममा नेपाली साहित्यमा ठोस योगदान पुऱ्याउने पनि यही संस्था हो।

सिक्किममा नेपाली साहित्यको गतिविधिको चर्चा गर्नभन्दा अघि सिक्किमको विषयमा केही तथ्यहरू अघि सार्न उपयुक्त होला। यी तथ्यहरूले सिक्किममा भएको अथवा भइरहेको नेपाली साहित्यिक गवितिधिहरूमा सिक्किमको भूमिकालाई सिद्ध गर्नेछन्।

सात हजार वर्ग किलोमिटर क्षेत्रफल भएको सिक्किम भारतको बाइसौं राज्य हो। सन् 1975-सम्म भारतको संरक्षणमा रहेको एउटा छुट्टै राष्ट्र थियो सिक्किम, जहाँ नामग्याल वंशी राजाहरूले सत्रौं शत्बादीको मध्यदेखि राजशासन चलाउँदै आएका थिए। तीनतिर तीनवटा छिमेकी राष्ट्रहरूसित सिक्किमको साझा सिमाना रहेको छ। पूर्वमा भूटान, पश्चिममा नेपाल अनि उत्तरमा तिब्बत(चीन) छ भने दक्षिणमा छिमेकी राज्य पश्चिम बङ्गालको दार्जीलिङ जिल्ला अवस्थित छ। सिक्किममा चारवटा जिल्ला (पूर्व-गान्तोक, पश्चिम- गेजिङ, उत्तर- मंगन औ दक्षिण- नाम्ची) अनि नौवटा महकुमा (गान्तोक, पाकिम, रंगेली, गेजिङ, सोरेङ, मंगन, चुङथाङ, नाम्ची औ राभाङला) छन्। एक सय छपन्नवटा तृणमूल स्तरका पञ्चायत अनि यसका पञ्चायती प्रणालीले राज्यको प्रशासनमा ठूलो टेवा पुऱ्याएको छ।

सिक्किमका वर्तमान वासिन्दाहरूमा लाप्चे, भोटे औ नेपाली यहाँका रैथाने हुन्। मदेश, जस्तै-राजस्थान, उत्तर प्रदेश, बिहार आदि राज्यहरूबाट आएका जातिहरू विशेषतः व्यापार-धन्धा गरेर बसेका छन्। भारत-गाङगेय समतल क्षेत्रादि जस्तैः बिहार, उत्तर प्रदेश, हरियाणा औ पश्चिम बङ्गाल अनि केरल, तामिलनाडू तथा आन्ध्र प्रदेशबाट पनि आएर शैक्षिक औ प्रशासनिक क्षेत्रमा काम गर्ने मानिसहरू यहाँ धेरै छन्।

सिक्किममा बसोबास गर्ने आदिजाति रोङ अथवा लेप्चा हुन्। यिनीहरू कसरी आएर सिक्किममा बसोबास गर्नथाले भन्ने विषयमा कुनै ऐतिहासिक आलेख नभए पनि यो जाति असमपट्टिबाट सिक्किम पसेको हो भन्ने विश्वास गरिएको छ। गोरो, मध्यम कद अनि मङ्गोलिया आकृति भएका लेप्चाहरू मूलतः लामापन्थी बौद्ध धर्मावालम्बी हुन्। तर धेरै लेप्चाहरू ईसाई धर्म ग्रहण गरेर आध्यात्मिक उन्नति गरिरहेका छन्। लेप्चाहरूको आफ्नै भाषा छ, जसको लिपि सिक्किमको तेस्रो राजा छोग्याल छाग्दोर नामग्यालको राजत्वकालमा (ईश्वी 1686-1716) आविष्कार भएको थियो। अहिले यस भाषामा लिखित पाठ्य पुस्तकहरू अनि सामाजिक तथा ऐतिहासिक जस्तावेजहरू, सीमित संख्यामा भए पनि छन्। साहित्य क्षेत्रमा पनि लेप्चाहरूको झुकाउ र परिश्रम सराहनीय छ।

सिक्किममा भोटे समुदायको बसोबास अनि नामग्याल वंशी राजाहरूको पुर्ख्यौली पहिल्याउँदै जाँदा तिब्बतको मि-न्याक घरानामा पुगिन्छ। सिक्किमका पहिलो राजा, छोग्याल पुन्सोग नामग्यालको सिंहासनारोहणको पन्ध्र दिनपछि तथा ईश्वी 1657 मा काल्जाङ लोदेन नामक एकजना तिब्बती विद्वानले मि-न्याक घरानाको राजकीय उत्पत्तिको संक्षिप्त इतिहास लेखेका थिए। यस अनुसार मि-न्याक वंशी राजाहरूका पुर्खा देउता मानिएका छन्। ती राजाहरूवे वर्तमान पूर्वी भारतको भू-खण्डमा पनि राज गरेका थिए। त्यहाँबाट उनीहरू कालान्तरमा तिब्बतको खाममा पुगेर राज गर्नथाले। यस वंशको पच्चिसौं पुस्ताका राजा अत्यन्त पराक्रमी थिए, जसले तिब्बतका साना-साना प्रदेशहरूलाई एकबद्ध गर्न मात्र होइन तर चीनको एउटा कुनै ठूलो भू-भागलाई आफ्नो राज्यमा गाभेका थिए। यिनै राजाका पछि आउऩए उत्तराधिकारीमध्ये एकजना राजकुमार खेबुम्सा थिए। तिनले तिब्बतको खाम, शाक्य औ छुम्बीमा बसेर शासन चलाएका थिए। खेबुम्साका आफ्ना छोरा-छोरी थिएनन्। त्यस समय सिक्किममा लाप्चेहरूका कुलपिता थेकोङतेक राजा थिए। अपुत्रलाई सन्तान दिनसक्ने दैवी शक्ति थेकोङतेककोमा छ भन्ने सुन्दा खेबुम्सा सिक्किममा आए अनि थेकोङतेकको आशीर्वाद लिएर तिब्बत फर्के। छुम्बीमा फर्केर आएको वर्ष दिनपछि रानी जोमोबाट एउटा पुत्रको जन्म भयो। त्यसपछि खेबुम्साका अरू दुइ पुत्रहरूको जन्म भयो। सन्तान प्राप्त भएको खुशीमा खेबुम्सा आफ्ना भाइ-भारदार अनि ठूलो संख्यामा तिब्बती रैतीहरूलाई साथमा लिएर थोकोङतेकलाई आफ्नो आभार प्रकट गर्न दोस्रोपल्ट सिक्किममा आए। यसपल्ट खेबुम्सा र थेकोङतेकको भेट उत्तर सिक्किमको काबी-लुङचोकमा भयो। त्यहीं तेह्रौं शताब्दीको अन्त्यतिर तिब्बती भोटिया अनि सिक्किमेली लाप्चेमाझ मित्रताको सम्झौता भयो, दुइ समुदायबीच सुदृड़ भ्रातृपबन्धन कायम राख्ने वाचा-बन्धन भयो।

खेबुम्साको साथमा आएका धेरैजस्ता तिब्बती भोटियाहरू फर्केर तिब्बत गएनन्। सिक्किममा नै बसोबासो गरे। थेकोङतेकको मृत्युपछि भनेजस्तो नेतृत्व नपाउँदा लाप्चे समुदाय निराश्रय भए। स्वाभावले नै बाठा प्रवृति भएका तिब्बती भोटियाहरूको प्रभावमा बिस्तार-बिस्तार लाप्चेहरू पर्नथाले। खेबुम्साका नाति टाशी छुम्बीबाट आएर गान्तोकमा बस्न थालेपछि साना-साना समुदायमा विभाजित भइसकेका निःसहाय लाप्चेहरू नेतृत्व तथा सुरक्षाको लागि तिनको शरणमा गए। यसबाट सिक्किममा नामग्याल वंशी शासन पद्धति गुरू टाशी नामग्यालको पालादेखि नै (चौथो शताब्दी) शुरू भएको हो भन्ने प्रमाण मिल्छ। लाप्चे-भोटेलाई नेतृत्व दिएर गुरू टाशीले शासन चलाए पनि सिक्किममा नामग्याल घरानाको यथाविधि राजशासन छोग्याल फून्सोग नामग्यालको राज्यभिषेक (ईश्वी 1642) देखि शुरू भयो।

सिक्किमेली भोटियाको आफ्नै भाषा र लिपि (साम्बोटा लिपि) छ। लामावाद बौद्ध धर्मका सबै ग्रन्थहरू यहबी लिपिमा लेखिएका छन्। विश्वविद्यालयसम्मका पाठ्य-पुस्तकहरू छन् यस भाषामा तर भनेजस्तो साहित्य तथा साहित्यिक गतिविधि भने छैनन्। यस दिशातर्फ भोटिया समुदाय प्रयत्नशील रहेको पनि देखिँदैन।

सन् 1942-मा पश्चिम सिक्किमको योक्सममा नामग्याल वंशका प्रथम राजा फुन्सोग नामग्यालको राज्यभिषेक भएको थियो। त्यस समय सिक्किमलायी डेञ्जोङ अथवा (धानको देश) भनिन्थ्यो। फुन्सोग नामग्यालपछि तिनको छोरो तेन्सुङ नामग्याल (1644-1700) सिक्किमका राजा भए। तिनका तीनजना रानीहरू थिए। कान्छी रानी योयोहाङ्ग अरूण नदीदेखि पश्चिमी इलाकाका लिम्बू राजाकी छोरी थिइन्। त्यसताक डेञ्जोङका लेप्चा, भोटे औ वर्तमान पूर्वी नेपालका लिम्बूहरूको माझमा बेरोकटोक आउनु-जानु थियो। नव दुलही रानीले दरबारमा प्रवेश गर्दा आश्चर्यमिश्रित स्वरमा आफ्नो भाषामा सु हीम अर्थात नयाँ घर भनेकी थिइन्। समय वित्दै जाँदा यो शब्द अपभ्रंश भएर सुखिम (भोटे भाषामा खीम को अर्थ घर हुन्छ) भयो अनि ब्रिटिश शासनकालमा यो नाम अङ्ग्रेजीकरण परेर सिक्किम हुनगयो। रानी योयोहाङ्गबाट एक पुत्र शाल्नो गुरू अनि एउटी पुत्री पेन्दी छिरीङ्ग ग्येनुको जन्म भयो। बिहे गरेर आउँदा रानीसित सातजना लिम्बुनी कन्याहरू पनि आएका थिए। ती सातै कन्याहरूको बिहे सिक्किमका विशिष्ट खानदानमा भएको थियो।

माथि उल्लेखित सिक्किमभित्र लिम्बूहरूको बेरोकटोक आउ-जाऊबाहेक सिक्किममा नेपालीहरूको बसोबास सन् 1788 को छेउछाउदेखि भएको देखिन्छ। ब्रिटिशले तिब्बतमा आफ्नो व्यापार खोल्ने उद्देश्यले सिक्किम राजासित सन्् 1861 को सन्धि गऱ्यो। भोटे लाप्चेको व्यापार खेल्ने उद्देश्यले सिक्किम राजासित सन् 1961 को सन्धि गऱ्यो। भोटे लाप्चेको संख्या त्यसबेला थोरै भएकोले सिक्किममा मजदूरको समस्या पऱ्यो अंग्रेजलाई। तर त्यो सन्धिको आड़मा अंग्रेजहरूले नेपालबाट मानिसहरू ल्याएर सिक्किमको खाली जमीन आबाद गराए। ती परिश्रमी नेपालीहरूले जंगल फाँड़े, खेतबारी तयार पारे अनि साँचो अर्थमा सिक्किममा कृषि प्रणाली शुरू गरे। भोटे-लाप्चे समुदायमा यस प्रकारको खेती गर्न पूर्णतया ज्ञान नभएको अनि केही सीमासम्म जाँगर पनि नभएकोले ती नवागन्तुक नेपाली कृषकहरूलाई धेरैले स्वागत गरे। तीमध्ये त्यस समयका राजाका सभासद् फोदङ लामा अनि खाङसा देवान थिए, जसले नेपालीहरूलाई सदाम, रम्फू अनि सिङ्चुथाङ (मङ्गले)-मा बसाले। यस्तै प्रकारले छिबु आदेन लामाले च्याखुङ, रेशी औ रामम् अनि लास्सो काजीले नाम्ची औ किताम आदि ठाउँहरूमा नेपालीहरू बसोबास गर्ने चाँजो मिलाइदिए। यसप्रकारले यी दूरदर्शी सभासद् काजी औ लामाहरूले सिक्किममा कृषि विकास साथसाथै आर्थिक विकासको क्रम शुरू गरिदिए। यस प्रकारले सिक्किममा नेपालीहरू रैथाने भएर बसेका दुइ सय वर्षभन्दा बढ्ता भएको छ।

सिक्किममा सन््् 1991 सालमा भएको जनगणनालाई पहिलो प्रमाणिक सूचना मानिलिइएको छ। यो जनगणनामा अनुसार 1891-मा सिक्किमको कूल जनसंख्या 30, 458 थियो, जसको फाँटवरी यसप्रकारको छः लेप्चा-5,762 (19 प्रतिशत), भोटे-4, 894 (16 प्रतिशत), लिम्बू-3, 356 (11 प्रतिशत) अनि नेपाली -16, 446 (54 प्रतिशत)। यसको एक सय वर्षपछि 1991 सालमा लिइएको जनगणना अनुसार सिक्किमको जनसंख्या 4,06, 457 थियो। त्यसमा भोटे-लेप्चाको 22.36 प्रतिशत अनि नेपालीको 77.64 प्रतिशत जनसंख्या भएको उल्लेख छ।

तीन सय तेत्तीस वर्षसम्म राजाको शासन चलेपछि बाह्रौं छोग्याल (धर्मराज) पाल्देन थोण्डुप नामग्यालको राजत्वकालमा 16 मई 1975 सालमा सिक्किम भारतको बाइसौं राज्य भएर भारतमा विलय भयो।

सिक्किममा नेपाली साहित्यको सही अर्थमा बीजारोपण सन्् 1947-मा अपतन साहित्य परिषद्-को स्थापनादेखि भएको हो र पनि अपतनकालको धेरै अघिदेखि नेपाली भाषाले यहाँ उचित मान्यता पाउँदै आएको हो। यो बड़ो ऐतिहासिक र तथ्यपूर्ण छ। सन् 1800-को शूरूतिर नै त्यतिबेलाका सिक्किमको सरकारी कामकाजमा नपाली भाषाको चलन भएको पाइन्छ। नेपाली भाषा त्यतिबेला सिक्किमको बोलचालको मात्र भाषा नभएर राजभाषा थियो, जसमा अहिलेसम्म परिवर्तन आएको छैन। त्यस समय सिक्किमको आफ्नै अर्थनीति थियो। सन् 1850- मा ढालिएको सिक्कामा श्रई श्री श्री सिक्किम सरकार, नेपाली भाषामा लेखिएको छ। खानीबाट ताँबा निकालेर सिक्का ढाल्ने काम टक्सारी चन्द्रबीर प्रधानले 1950-भन्दा धेरै अघि शुरू गरेका थिए। यसले त्यसताक पनि सिक्किमको राष्ट्रभाषा नेपाली थियो भन्ने प्रमाण दिन्छ। धेरै अघिदेखिको कुरो हो, सिक्किमका ग्राम पञ्चायत तथा जनासाधारणसित पत्राचार अथवा लेखापढ़ी गर्दा सम्बन्धित विभाग, जस्तै-भू राजस्व, ग्राम विकास, वन, कृषि, पशुपालन आदि अनि अन्य कतिपय सरकारी एकाईहरूले नेपाली भाषा प्रयोग गर्दै आएका छन्।

अपतनपूर्वका साहित्यिक गतिविधि खोज्दै जाँदा दक्षिण सिक्किमको सुम्बुकका श्यामदास राईको अद्वैत दर्शन पाउँछौं। सुम्बुकका शैलेश प्रधानको भनाई अनुसार यो पुस्तक सन् 1940- मा प्रकाशित भएको थियो। त्यसै गरी सन्् 1944 मा पश्चिम सिक्किम निवासी चन्द्रदास सापकोटाको ज्ञान विनोद श्लोकबद्ध पुस्तक प्रकाशमा आयो भने सन् 1946 मा टिम्बुरबुङ्ग निवासी मनोरथ दाहालको उद्देश्य भाषा श्लोक प्रकाशित भएको थियो। यो बाहेक बनारसबाट प्रकाशित उदय पत्रिकामा सन्् 1944 तिर सिक्किमका सन्तवीर लिम्बूका कविताहरू प्रकाशित भएका हुन्। लिम्बूले आफ्ना कविताहरू सिक्किम बाहिरका धेरै पत्रिकाहरूमा भताभुङ्गे थापा छद्म नाम दिएर पनि प्रकाशित गरे। तुलसीबहादुर छेत्री (पछि डाक्टर) ले पनि 1942 तिरै बनारसबाट प्रकाशित हुने पत्रिकामा आफ्नो प्रथम रचना मित्रता कविता छापिएको कुरा एउटा अन्तर्वार्तामा भनेका छन्।

साहित्यानुरागी-अगमसिंह तामाङ, पदमसिंह सुब्बा, तुलसीबहादुर छेत्री औ निमा वाङ्दी तार्गेनहरूका नामको पहिलो अक्षर टिपेर अपतन साहित्य परिषद्-को स्थापना सन् 1947-को अप्रेल महीनामा सिक्किमको राजधानी गान्तोकमा भयो। त्यस समय सिक्किममा राजतन्त्र थियो अनि भारतमा स्वतन्त्रताको लागि क्रान्ति चरममा पुगेको थियो। यस्तो परिवेशमा नेपाली समुदायले संस्था खोलेर आफूलाई चिन्हित गराउन खोज्ने प्रयासलाई राजदरबार तथा अऩ्य समुदायले शंका गर्नु स्वाभाविक थियो। संस्था खोलियो तर समय अनुकूल नभएकोले प्रायः छ महीनासम्म परिषद् भित्रभित्रै लुकेर बस्यो। परिषद् गुप्तहरूमा रहे पनि यसका सदस्यहरूले रचेका रचनाहरू विभिन्न पत्रिकामा देखापर्न थाले। ती रचनाहरूमा रचनाकारको नाम नभएर अपतन गान्तोक मात्र लेखिएको हुन्थ्यो।

प्रतिकूल समय भएको भए पनि परिषद्लाई धेरै दिनसम्म लुकाइराख्न परिषद्का सदस्यहरूलाई समस्या परिरहेको थियो। त्यही बीचमा भारत स्वतन्त्र भयो। भारतमा भएको स्वतन्त्रता संग्रामको असर औ महात्मा गान्धीको सत्याग्रह अनि त्यागको सोझो प्रभाव परेको सिक्किमवासीमा पनि राजनैतिक चेतना स्फूरित हुनलागेको थियो। फलस्वरूप पूर्व सिक्किम गान्तोकमा सिक्किम स्टेट कंग्रेस, पश्चिम सिक्किम गेजिङमा प्रजा मण्डल औ दक्षिण सिक्किम नाम्चीमा सिक्किम प्रजा सम्मेलन- जस्ता राजनैतिक दलहरूले आफ्ना आफ्ना संस्थाहरूको स्थापना गरे। अपतन साहित्य परिषद्-का सदस्यहरूले पनि पनि त्यो उथल-पुथल औ लथालिङ्ग व्यवस्था भएको अवसर छोपी सितम्बर 1947 को एकदिन गान्तोक ठाकुरबाढ़ीको प्राङ्गणमा एउटा विशेष आमसभामा परिषद्लाई सार्वजनिक गरिदिए। रश्मिप्रसाद आलेको अध्यक्षतामा बसेको त्यस आमसभाले परिषद् संस्थापित गरिएको कुरा, यसका उद्देश्य औ नयमादि उपस्थित सबैवलाई बताइयो।

थोरै समयमा धेरैजना परिषद्का संरक्षक, आजीवन सदस्य औ सदस्य बने। तीमध्ये प्रमुख व्यक्तिहरू थिए- रामसाहेब हरिप्रसाद प्रधान, रश्मिप्रसाद आले, काशीराज प्रधान, रघुबीर बस्नेत, भीमूबहादुर राई, अटलसिंह देवान, चतुरसिंह राई, रनबहादुर राई, चन्द्रवीर राई, हर्कबहादुर बस्नेत, ख्यालिराम सिंगी, युनारायण प्रधान, आत्मराम, हर्कबहादुर प्रधान, लक्ष्मण छेत्री, चन्द्रमान रसाइली, सी.डी. राई, सन्तबीर लिम्बू, भूपाल लामिछाने, मनबहादुर सुब्बा, रामदत्तलाल ठाकुर, (राम अपतन) आदि। विद्यार्थी समुदायबाट पनि धेरैजना परिषद्का सदस्य बने। तीमध्ये पाइएका नामहरूको सूची यसप्रकारको छ। पदमबहादुर थापा, लक्ष्मीशोभा राई, लीला आले, भरत बस्नेत, देवकुमारी गुरूङ, शान्ति राई, मानबीर सुब्बा, नरमाया तामाङ आदि।

अपतन साहित्य परिषद्को प्रथम अधिवेशनपछि यसको साहित्यिक गतिविधि सुचारू रूपले चलेर गयो। परिषद्को साप्ताहिक गोष्ठि प्रत्येक शनिबारको दिन हुन्थ्यो। त्यस्ता गोष्ठीमा रचनाकारहरूले आ-आफ्नो कथा, कविता, निबन्ध, आदि पढेर सुनाउँथे। ती रचनाहरूमाथि टिप्पणी हुन्थ्यो, बहस चल्थ्यो। मासिक अधिवेशनमा घेरै संख्यामा सदस्य औ विद्यार्थीवर्गको उपस्थिति हुन्थ्यो। बेला-बेलामा साहित्यिक प्रतियोगिताको पनि आयोजन परिषद्ले गर्ने गर्थ्यो। वार्षिक अधिवेशन अझ बृहतरूपमा मनाउँथे। यस्ता वार्षिक अधिवेशनमा कथा, कविता, निबन्ध आदिका प्रतियोगिता र तर्कसभाबाहेक सांस्कृतिक कार्यक्रम पनि रहन्थ्यो।

अपतन साहित्य परिषद्-ले आफ्नो प्रतिनिधि कविता-संग्रह इन्द्रकील पुष्पाञ्जलि 1950- मा प्रकाशित गऱ्यो। यस संग्रहमा नौजना कविहरूका अड्तीसवटा कविता अनि पाँचवटा प्रहेलिका र यसका उत्तरहरू समावेश गरिएको छ। यी अड़तीसवटामा तुलसी (तुलसीबहादुर छेत्री) को 16 शिव, (शिवनाथ मिश्र) को 6, अगम (अगमसिंह तामाङ) को 3, मन (मनबहादुर सुब्बा) को 2 अनि पदम् (पदमसिंह सुब्बा), चन्द्र (चन्द्रबीर राई), राम (राम अपतन), भूपाल (भूपाल लामिछाने) औ सन्त (सन्तबीर लिम्बू)-को एक एकवटा गरेर जम्मा बत्तीस कविताहरू छन्। रहेका 6 वटामा दुइवटा अपतन नाम गरेर छापिएको छ अनि बाँकी चारवटालाई संयुक्त रूपमा अगम, पदम्, तुलसीले एउटा, शिव, तुलसी, पदमले एउटाः तुलसी, राम, पदमले एउटा अनि शिव, मनले एउटा लेखेका छन्।

इन्द्रकील पुष्पाञ्जलि सिक्किममा नेपाली साहित्यमा सर्वप्रथम योगदान पुऱ्याउने संस्थागत रूप-आकार भएको अपतन साहित्य परिषद्को कोसेली हो। यो एउटा साहित्यिक कृति मात्र नभएर सिक्किमेली फाँटमा नेपाली साहित्य क्षेत्रको ऐतिहासिक महत्व बोकेको माइलखुट्टी हो।

अपतन साहित्य परिषद्का मूल खाँबाहरूमा अगमसिंह तामाङको 1965-मा अल्पायुमा निधन भयो। तिनका फुटकर रचनाहरू त्यसताकका विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित भएका छन्। तामाङका भेटेजति रचनाहरू- कविता, गीत, बाल-गीतको सङ्कलन प्रेम थुलुङको सम्पादनमा 1996-मा प्रकाशित भएको छ। यो राम्रो कामको लागि प्रकाशक श्री डी.बी. राई अनि सम्पादक श्री प्रेम थुलुङ धन्यवादका पात्र बनेका छन्।

पदमसिंह सुब्बाका धेरै रचनाहरू पत्र-पत्रिकातिर छापिएका भए पनि पुस्तककाकारमा प्रकाशित भएको छैन। खुशीको कुरो, आज पनि वृद्ध सुब्बाज्यू साहित्यिक गतिविधिमा उत्तिकै चासो देखाउनुहुन्छ। नेपाली भाषा-साहित्यमा दीर्घकालीन सेवा पुऱ्याएबापत् उहाँलाई 1989-मा सिक्किमको भानु पुरस्कार-द्वारा सिक्किम साहित्य परिषद्ले (अहिलेको नेपाली साहित्य परिषद्ले) सम्मान गरेको हो।

इन्द्रकील पुष्पाञ्जलि-मा समावेश गरिएका कविताहरूबाहेक तुलसीबहादुर छेत्रीका अन्य धेरै रचनाहरू विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित भएका छन्। पुस्तकाकारमा बापू बन्दना (कविता संग्रह), कमल (नाटक), कर्ण-कुन्ती (खण्डकाव्य), बुद्धिबँगारो (मिनी खण्डकाव्य संग्रह) आदि प्रकाशित भएका हामी पाउँछौं। कर्ण-कुन्ती-को लागि छेत्रीलाई 1989-मा साहित्य अकादमी पुरस्कार प्राप्त भएको हो।

निमा वाङ्दी तार्गेन(लेप्चा) परिषद्का एक कर्मठ कार्यकर्ता थिए। साहित्य क्षेत्रमा उस्तो देन नभए पनि सङ्गठनको क्रियाकलापमा यिनको अहम भूमिका हुने गर्थ्यो।

अपतन साहित्य परिषद् राजनीतिदेखि टाड़ा रहन सक्षम बनेको संस्था थियो। यो साम्प्रदायिक पनि थिएन। नेपाली, भोटिया औ लेप्चा तीनै भाषाको साहित्यलाई विकास औ संवर्द्धन गर्ने परिषद्को उद्देश्य थथियो।यस कुरोलाई परिषद्को सदस्यमा भोटे-लाप्चे धेरै संख्यामा भएकोले पुष्टि गर्छ। यसबाहेक हिन्दी औ मैथिलीभाषीहरू पनि परिषद्का सदस्य थिए। एउटा महत्वपूर्ण कुरा के छ भने श्री उदय छेत्रीले आफ्नो शोधपत्र नेपाली साहित्यको विकासमा सिक्किमका संघ-संस्थाहरूको योगदान-मा अपतन साहित्य परिषद्को औपचारिक रूपमा विधिवत्् विघटन नभएको र यसैले हालमा यो संस्था केवल निष्क्रिय रहेको बताएका छन्। यस तथ्यलाई डा. तुलसीबहादुर छेत्री, पदमसिंह सुब्बा औ रामदत्तलाल ठाकुरले आफ्ना नाउँको पछि अपतन उपनाम जोड़ने गरेकाले पुष्टि गर्छ।

यस प्रकारले अपतन साहित्य परिषद्ले प्रतिकूल समय औ परिवेशमा साङ्गठनिक रूपमा सिक्किममा नेपाली साहित्यको बिजारोपण गरेर त्यसलाई फल्ने-फूल्ने बनायो। यसको फलस्वरूप साहित्यको सेवा गर्नलाई अनेकौं लेखक-लेखिका, कवि-कवयत्री, नाटककार आदिको सिक्किममा जन्म भयो। यसबाहेक यस्ता धेरै साहित्यानुरागीहरू बाहिरबाट आएर सिक्किमलाई कर्मथलो बनाएर यतै बसोबास गरे।

अपतन साहित्य परिषद्पूर्व अनि परिषदकालमा साहित्यको क्षेत्रमा उत्रेका साहित्यकारहरूका केही नाम यस प्रकार छन्ः श्यामदास राई, चन्द्रदास सापकोटा, मनोरथ दाहाल, भवानीशङ्कर शर्मा, रश्मिप्रसाद आले, तुलसीबहादुर छेत्री, पदमसिंह सुब्बा, अगमसिंह तामाङ, शिवनाथ मिश्र, कृपाशल्यान राई, सन्तबीर लिम्बू, चन्द्रदास राई, भूपाल लामिछाने, राम अपतन,,मनबहादुर सुब्बा, सी.बी. राई, लाल देवसा, रत्नकमल देवान, काशीराज प्रधान, छत्र नरसिंह शाक्यवंश, नरेन्द्र नरसिंह आदि। यसपछि लगत्तै पंक्तिमा परेका केही नामहरूः-महानन्द पौड्याल, लक्ष्मीप्रसाद प्रधान, खड़कबहादुर प्रधान, जी.के. प्रधान, विष्णुप्रसाद आत्रेय, जयवीर सुब्बा, शैलीशचन्द्र प्रधान, तुलसी राम शर्मा (कश्यप), सानु लामा, समीरण छेत्री, उदयचन्द्र वशिष्ठ, गंगा कप्तान, शान्ति छेत्री, गिर्मी शेर्पा, जीवन थिङ, गीता शर्मा, नरबहादुर भण्डारी, केदार गुरूङ, सानुभाई शर्मा, पवन चामलिङ (किरण), शोभाकान्ति थेगिम, पूर्ण राई, सुवास दीपक, उपमान बस्नेत, टीकाभूषण दाहाल, जयनारायण शर्मा, उगेन भोटिया, बी.पी. दाहाल, सन्तोष राई, डी. तार्गेन, मिलनकुमार राई, शिवान्द दिलपाली, शैल मल्लिका, किरण रसाईली, कबीरमान राई, बेनसिंह राई, शोभाकुमारी प्रधान, कमल प्रधान, आर मोक्तान, तेजबहादुर नेसुर, सन्तोषकुमार राई, टी. ग्याछो, बुद्धिमाया सिंह, चन्द्रकला प्रधान, काजी गजमेर, रामप्रसाद शर्मा, कमला प्रधान, नरबहादुर तिवारी, हर्क वाकछाली राई, कमलप्रसाद अधिकारी, तिलक राई, सन्तोष बरदेवा, जीवन शेर्पा, कर्म छिरिङ भोटिया, दिलीप विरही, चुड़ामणि प्रधान, कर्ण बस्नेत, एम.एम. परियार, एल.पी. परियार, रघुनाथ सुवेदी, दिलू मास्के, चन्द्रकला सिञ्चुरी, मुक्ता आले, अर्जुन निरौला, सरला राई, लाजुम लेप्चा, पदमलाल शर्मा आदि।

उक्त साहित्यिक प्रतिभाहरूमध्ये कतिजना आजपर्यन्त सिर्जनात्मक लेखन कार्यमा लागिरहेका छन् भने कतिले कलम कलम थन्काएर राखेका छन् कति बितेर गए।

अपतन साहित्य परिषद्ले लगातार 6 वर्षसम्म काम गरेर सिक्किममा नेपाली साहित्यको विकास औ संवर्द्धनको लागि एउटा बलियो घड़ेरी तयार पारिदियो। तर अभाग्यवश संस्थाका संस्थापक सदस्यहरू सिक्किमबाट अन्यत्र गएपछि परिषद्ले शुरू गरेको साहित्यिक संस्थाका संस्थापक सदस्यहरू सिक्किमबाट अन्यत्र गएपछि परिषद्ले शुरू गरेको साहित्यिक गतिविधिको प्रक्रियामा शिथिलता आउऩथाल्यो। तुलसीबहादुर छेत्री दार्जीलिङको सरकारी महाविद्यालमा प्राध्यापक पदमा नियुक्ति पाएर गए। निमा वाङ्दी कालेबुङतिर लागे। अगमसिंह तामाङ गान्तोकदेखि सरूवा भएर नाम्ची पुगे, जहाँ अल्पायुमा नै तिनको  निधन भयो। गान्तोकमा खालि पदमसिंह सुब्बा रहे। यसप्रकारले अपतन साहित्य परिषद् निष्क्रिय हुनगयो तर यसले सिक्किमका साहित्यकार औ साहित्यानुरागीहरूलाई चालीस औ पचासको दशकमा दिएझैं प्रेरणा आज पनि दिइरहेको छ।

अपतन साहित्य परिषद् सन्् 1953-देखि यता निष्क्रिय हुँदै गएपछि सिक्किमको साहित्यिक गतिविधिको दीयोमा तेल थपिदिने काम सिक्किमभित्र साहित्यिक सङ्गठन होइऩ तर सिक्किमबाहिर, दार्जीलिङमा, स्थापित भएको अखिल सिक्किम छात्र सम्मेलन-(अखिल सिक्किम विद्यार्थी संगठन लेखिएको पनि पाइन्छ) गरिदिएको छ। भारतले स्वतन्त्रता प्राप्त गरेपछि देशका अन्य भागहरूमा झैं दार्जीलिङमा पनि राष्ट्रिय भावना सबैमा जागेको फलस्वरूप नेपाली भाषा-साहित्य, कला-संस्कृतिको दिशामा अभूतपूर्व काम हुनथाल्यो। अपतन साहित्य परिषद्ले झक्झकाइदिएको, सिक्किमबाट उच्च शिक्षाको लागि दार्जीलिङको महाविद्यालयमा पढ्न गएका सिक्किमे विद्यार्थीहरू त्यहाँको त्यस्तो साहित्यिक तथा देशप्रेमको वातावरणमा पर्न जाँदा उनीहरूले पनि त्यहाँ एउटा संस्था खोले-अखिल सिक्किम छात्र सम्मेलन। यो हो सन् 1956-57 को कुरा। संस्था स्थापित भएको अर्को वर्ष नै यसका शाखाहरू कलकत्ता, बर्द्धवान, वाराणसी औ गान्तोकमा खोलिए। मूल संस्था पनि यसका शाखाहरू बाहिर भए पनि यसको कर्मक्षेत्र सिक्किम भयो। अपतन साहित्य परिषद्पछि सांगठनिक रूपमा काम गर्ने यही छात्र संघ थियो।

विद्यार्थीहरूले मुख्यतः आफ्नै हितका निमित्त यो छात्र संघ खोलेका थिए। भए पनि यसको साहित्यिक अवदान अनि यसले विद्यार्थीहरूमा जगाएको सामाजिक-साहित्यिक चेतनालाई बिर्सन हुन्न। सम्मेलनले महानन्द पौड्यालको सम्पादनमा दुइ वर्षको अवधिमा दुइवटा वार्षिक पत्रिका प्रकाशित गऱ्यो। पहिलो वर्षको वार्षिक अंकलाई कुनै नाम नदिइ खाली सम्मेलनको बुलेटिन- भनेर निकाल्यो छात्र संघले। त्यसपछिको अर्को अंकलाई दि पोल स्टार नाम दिइएको थियो। बुलेटिन सम्पादक महनन्द पौड्याल